• २०८३ जेठ २२
  • 2026 June 05, Friday

एलन मस्कको डजले गर्‍यो एमसीसी सधैंका लागि बन्द गर्ने तयारी

काठमाडौं ।अमेरिकी अर्बपति उद्यमी एलन मस्कको नेतृत्वमा रहेको ट्रम्प प्रशासन अन्तर्गतको सरकारी निकाय ‘डज’ ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थायी रूपमा बन्द गर्ने तयारी गरेको छ। अमेरिकी संघीय सरकारले खर्च कटौती गर्ने रणनीतिअन्तर्गत विकासशील देशहरूको आर्थिक विकासमा सहयोग पुर्‍याउँदै आएको एमसीसीलाई पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

मंगलबार डजले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा, निकट भविष्यमा कर्मचारी कटौती र कार्यक्रमहरूमा उल्लेख्य बदलाव आउने उल्लेख गरिएको थियो। सीएनएनले उद्धृत गरेको स्रोतअनुसार, डजका अधिकारीहरू एमसीसीमा पुगेको एक हप्ता नपुग्दै यस्तो निर्णय गरिएको हो। मे ५ भित्रै अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखिने सम्भावना रहेको बताइएको छ।

कानुनअनुसार एजेन्सीमा नेतृत्व अनिवार्य भएकाले कार्यकारी सीईओ बाहेक सबै कर्मचारी हटाइने तयारी भइरहेको जनाइएको छ।यसअघि पनि डजले अमेरिकी विदेश सहायता नियोग यूएसएड (USAID) बन्द गर्ने प्रक्रिया अघि बढाएको थियो। त्यसपछि अमेरिकी शान्ति संस्था र अफ्रिकी विकास फाउन्डेशनलाई पनि बन्द गरिएको छ।

यस्ता निर्णयहरू हाल कानुनी चुनौतीको सामना गरिरहेका छन्।एमसीसी सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा स्थापना गरिएको थियो, जसको उद्देश्य विकासशील मुलुकहरूमा आर्थिक वृद्धिमा सहकार्य गर्नु थियो।