• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

१८ अर्ब रुपैयाँको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झण्डै १८ अर्ब रुपैयाँको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ। सीआईबीका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार, अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न मनि चेन्जर र उनका सञ्चालकहरूलाई पक्राउ गरिएको हो।

सीआईबीको अनुसार, पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँको अवैध कारोबार गरेको पुष्टि भएको छ। यस कारोबारमा विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई आप्रवाहमा अवरोध गरी नेपालमा अवैध कारोबार सञ्चालन गरिएको छ। यी व्यक्तिहरू र समूहहरूले भन्सार चोरी, सुनको अवैध कारोबार, र कर छली लगायतका गतिविधिहरूमा संलग्न रहेको पाइएको छ।

अवैध कारोबारमा संलग्न व्यक्तिहरूले डिजिटल वालेट कम्पनीहरू, जस्तै ‘सजिलो पे’ र ‘पेवेल नेपाल प्रा.लि.’, को नाममा नेपालका बैंक खाताहरूमा ठुलो परिमाणमा नगद रकम जम्मा गर्नको लागि मनि मूलहरूको प्रयोग गरेको छ। यस रकमलाई रेमिटेन्स भुक्तानीका लागि विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीका परिवारका खातामा ट्रान्सफर गरिएको थियो।ब्युरोले अवैध रकमलाई विभिन्न मनी ट्रान्सफर एजेन्टहरूको माध्यमबाट ई-मनि बनाई रेमिटेन्स बापतको रकम भुक्तानी गरिएको जानकारी दिएको छ।अदालतले भने पक्राउ गरिएका व्यक्तिहरूसँग नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमा:
वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदीप कुमार साह, संजीव कुमार महतो, राज लोनिया कमल, भिम कुमारी गुरुङ, राम विलास साह, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी शाहु, गोविन्द प्रसाद आचार्य, र सम्भु मेहता समावेश छन्।