मधेश हुलाकी मार्ग जागरण अभियानअन्तर्गत कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थानीयहरुले थारु संस्कृति झल्किने परिकारले स्वागत गरेका छन्। यही क्रममा प्रचण्डले मुसा र गँगटाको चटनी चाखेका हुन् ।
कैलाली–५ बैजपुरमा चामलको कनिकाबाट बनाइने खुडिक कपुवा, मुसा, गँगटा र बयरको चटनी, लोकल कुखुराको मासु, घोँघी, खरियालजस्ता परिकारले प्रचण्डको स्वागत गरिएको छ ।
कार्यक्रमको तयारीमा स्थानीयले खेत खन्दै मुसा समाते, नदी र तालतलैया पुगेर माछा, घोँघी र गँगटा टिपे।
स्थानीयले प्रचण्ड र उनका सहकर्मी पाहुनालाई सालको टपरीमा भात र दुनामा तरकारी पस्किए। कुर्सिमा नभएर ,उनलाई परम्परागत खटियामा बसालेर खाना पस्कियो ।
तराइको उखरमाउलो गर्मी छल्न विद्युतीय पंखा नभई बेना चलाइएको थियो ।
‘हाम्रो संस्कृति झल्किने परिकार उहाँहरूलाई खुवायौं,’ गाउँपालिका अध्यक्ष बतासु चौधरीले बताए। प्रचण्डसहितका नेताहरूले परिकारको स्वाद लिनुका साथै स्थानीय परिकारको बारेमा जानकारी समेत लिएका थिए ।