• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अब सवारी लाइसेन्सको अवधि १० वर्ष, प्रतिनिधि सभाबाट विधेयक पारित

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वैधता अवधि १० वर्ष हुने भएको छ।प्रतिनिधि सभाले मंगलबार ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गरेको हो।

हालसम्म पाँच वर्षको लागि जारी हुँदै आएको लाइसेन्स अबदेखि १० वर्षका लागि जारी हुनेछ।प्रचलित ऐनको दफा ५४ को उपदफा ३ मा “पाँच वर्षसम्म” भन्ने शब्दलाई हटाएर “दश वर्षसम्म” बनाइएको छ। नविकरण गर्दा पनि अब लाइसेन्स १० वर्षका लागि नै नवीकरण हुने व्यवस्था विधेयकमा गरिएको छ।यो विधेयक पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको कार्यकालमा तयार पारिएको थियो।

२०८० वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक विषयगत समितिमा २९ भदौमा पठाइएको थियो र १४ वैशाख २०८१ मा पुनः सभामा पेश गरिएको थियो।अब विधेयक राष्ट्रिय सभामा पेश हुनेछ। राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रतिनिधि सभामार्फत राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाइनेछ। प्रमाणीकरण भएपछि नयाँ व्यवस्था कानुनी रूपमा लागू हुनेछ।