
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार दुई उद्योग तथा फर्मलाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ। नियमित बजार अनुगमनको क्रममा विभागले ११ उद्योग तथा फर्मको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–२७ मा रहेको सन इन्टरनेसनल इन्कर्पोरेट प्रालिलाई डेरी उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। ललितपुर महानगरपालिका–१३ स्थित नवीना सप्लायर्सलाई भने अनुगमनमा सहयोग नगरेको भन्दै २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
दुबै फर्ममाथि उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत सम्बन्धित दफाहरूअनुसार कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।त्यसैगरी, विभागले अनुगमनमा परेका ११ उद्योगलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।यसअघि, विभागले मंगलबार पनि चार उद्योगलाई ३ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।