• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने, बोर्डले भ्रामक सूचनाप्रति चेतावनी जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका सन्दर्भमा बोर्डको लोगो प्रयोग गरी सामाजिक सञ्जालमा अनधिकृत र भ्रामक सूचना फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएको मिति अनुसार नै सञ्चालन हुने स्पष्ट पारेको हो। बोर्डले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई यस्ता भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै परीक्षाको तयारीमा जुट्न अनुरोध गरेको छ।परीक्षा सञ्चालनका लागि सम्बन्धित सबै निकायलाई आवश्यक पत्राचार भइसकेको बोर्डले जनाएको छ।

साथै, निर्धारित मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सम्पन्न गर्न पूर्वतयारीको बाँकी कार्यहरू शीघ्र सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई अनुरोध गरिएको छ। यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु हुने भनिए पनि शिक्षक आन्दोलनको कारण परीक्षा वैशाख २१ मा सरेको थियो। बुधबारमात्रै सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो।rastriya exam board