• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

‘१८ गते नेपाल आउँछु’ भन्दै फोन गरेकी प्रिशा केहि घण्टामै मृत फेला

नेपाली छात्राका लागि काल साबित भैरहेछ भारतको केआईआईटी!

 

भारतको प्रतिष्ठित शिक्षण संस्था कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरी एक नेपाली विद्यार्थी झुन्डिएको अवस्थामा भेटिएकी छन् ।
२ महिना अगाडी प्रकृति लम्सालको त्यो कहालीलाग्दो घटना सेलाउन नपाउँदै फेरि अर्को घटना सोही ठाउँमा दोहोरिएको छ ।

बिहीबार दिउँसो तीन बजे प्रिसाले घरमा फोन गरेर यही १८ तारिखमा नेपाल आउनका लागि टिकट काटिदिन आग्रह गरेकी रहेछिन्, जसको केही घण्टामा प्रिशाको परिवारले यस्तो घटना सुन्नुपर्‍यो ।   प्रिशा बिहीबार साँझ मृत फेला परिन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
आखिर किन १८ तारिखमा घर फर्कने मनसाय बनाएकी प्रिशाले यस्तो डरलाग्दो कदम उठाइन् ? के उनी कुनै किसिमको दबाब वा तनावमा त थिइनन् , फेरी बारम्बार केआईआईटीमै किन यस्तो घटना दोहोरी रहेको छ ।
प्रश्न अहिले हरेक नेपालीको मन मनमा छ ।

प्रिशाको मृत्युको खबर पाउनासाथ कलेज प्रशासनले नेपाली विद्यार्थीहरुलाई फेरी जोर जबरजस्ती गरेको कुरा पनि बाहिरिएको छ ।
घटनापश्चात् कुनै पनि नेपाली विद्यार्थीलाई होस्टेल बाहिर निक्लन दिइएको थिएन रे ।

जसका कारण केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरू फेरि एक पटक शोकको छाया परेका छन्।

केही समयअघि भैरहवाकी प्रकृति लम्सालको मृत्यु प्रकरणले नेपाल र भारतबिच नै सम्बन्धमा खटपट आउने अवस्था बनेको केआईआईटीमा अध्ययनरत अर्की नेपाली छात्राको यो खबरले
अर्को तहल्का मच्चाएको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि गरेका छन्। प्रिशा साह मृत्यु प्रकरणको छानबिन र अनुसन्धान सुरु भएको छ।

उनले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ र परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गरिने भएको छ । प्रिशा  सर्लाहीको मलंगवा घर भइ हाल वीरगन्ज–१५ बस्दै आएका श्याम साहकी छोरी भएको पुष्टि भएको छ ।

उनको मृत्युबारे कलेजले राती ९ बजे फोन गरेर जानकारी दिएको थियो । खबर सुनेर क्षतविक्षत भएको परिवारका सदस्यहरू राति नै किट विश्वविद्यालय जाने तयारीमा लागेका थिए। प्रिशा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि सो विश्वविद्यालयमा गएकी थिइन् ।

प्रथम वर्षमा कम्प्युटर साइन्स अध्ययनरत वीरगन्जकी प्रिशा साहको निधनको खबरले फेरि एक पटक सारा नेपाललाई मर्माहत बनाएको छ ।
प्रिशाको शव फेला परेको होस्टेलमा गत ४ फागुनमा दोस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल समेत मृत भेटिएकी थिइन्। आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याक मेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्।

दुवै नेपाली विद्यार्थी एउटै होस्टेलमा बस्दै आएका थिए, जसले घटनालाई अझ शङ्कास्पद बनाएको छ।

दोस्रो पटक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। घटनापछि भारतस्थित नेपाली विद्यार्थीहरूले आक्रोश पोख्दै सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्।

घटनालाई लिएर परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा राज्य सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत कूटनीतिक तहमा छानबिन अघि बढाइएको जानकारी दिएकी छिन्।

यसैबिच, भारतको छात्र सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले घटनाप्रति कडा आपत्ति जनाउँदै केआईआईटी प्रशासनविरुद्ध तत्काल कडा कारबाहीको माग राखेको छ।

गत ४ फागुनमा घटेको प्रकृति लम्साल घटनामा सोही कलेजमा अध्ययनरत अद्विक श्रीवास्तव शङ्काको घेरामा परेका थिए । सो घटनाका दोषीलाई के भइरहेको छ ,भन्ने जानकारी सम्भवतः अहिले कसैलाई छैन। सोही क्रममा बिहीबार साँझ फेरी अर्को घटना दोहोरिएको छ ।

यद्यपि भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी यति बेला दिएको छ । स्थानीय प्रहरीलाई बिहीबार राति ८ बजेर १० मिनेट जाँदा घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजन कमिस्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

साह विश्वविद्यालयको परीक्षा दिने क्रममा होस्टेलमै बस्दै आएकी थिइन्। अहिले उनको मृत्युलाई लिएर अनुसन्धान प्रारम्भ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, तर मृत्युको आधिकारिक कारण भने अझै सार्वजनिक भइसकेको छैन।