• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

केआईआईटीमा नेपाली छात्रा मृत फेला : न्यायको माग गर्दै प्रदर्शन

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाको छानबिनको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

स्ववियुको नेतृत्वमा शुक्रबार बिहान गरिएको प्रदर्शनमा विद्यार्थीहरूले कालो मास्क लगाउँदै ‘विद्यार्थी छोरीको न्याय सुनिश्चित गर’, ‘We Want Justice’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।स्ववियु सभापति भूपी ऐरले उक्त घटनाले सबै नेपालीलाई स्तब्ध बनाएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको मागसहित सरकारलाई दबाब दिन प्रदर्शन गरिएको बताइन्।

पर्साको वीरगञ्ज निवासी प्रिशा साह बिहीबार राति ओडिसास्थित होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको शव हाल पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। परिवारका सदस्यहरू भारत पुगिसकेका छन् र पोष्टमार्टमको प्रक्रिया अगाडि बढ्ने तयारी भइरहेको छ।यसैबीच, परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनका लागि भारत सरकारसँग कूटनीतिक तहमा पहल सुरु गरिएको जानकारी दिएकी छन्।