• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

भाटभटेनीबाट चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा

चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भाटभटेनी स्टोरबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका ६ जनाले प्रहरी हिरासतबाटै कक्षा १२ को परीक्षा दिएका छन्।

तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन् । १९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी गराएका छन् ।

बानेश्वरस्थित लिभरपुल कलेजमा अध्ययनरत १९ वर्षीय दिनेश महतोसहितका किशोरहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले परीक्षामा सहभागी गराएको हो।

एसपी अपिल बोहराका अनुसार हिरासतमा रहेका दिनेश महतो (सिराहा), दावा शेर्पा (सिन्धुपाल्चोक), सौगातकुमार बिक (स्याङ्जा), सरोज थापा (धादिङ), सिमन घले (नुवाकोट) र अमन साकिन (भारतीय नागरिक) लाई भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षा दिलाइएको थियो ।

पक्राउपछि पनि शिक्षा नछुटोस् भन्ने उद्देश्यले प्रहरीले यस्तो व्यवस्था मिलाएको हो। उनीहरू सबै अहिले पनि प्रहरीको नियन्त्रणमा छन्।