• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

पेन किलरकै कारण मिर्गौला फेल भएको प्रधानमन्त्री ओलीको खुलासा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमा मिर्गौला फेल हुनुको कारण दुखाइ कम गर्ने औषधि (पेन किलर) भएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य समस्याको इतिहास सुनाउँदै भने, “मलाई क्षयरोग र अल्सर भएपछि शरीरमा निकै पीडा हुन्थ्यो। पेटभित्र घाउ भएर पोल्थ्यो, रगत आउँथ्यो। त्यसपछि पेन किलर दिन्थे। यस्ता औषधि धेरै खाँदाखाँदै मिर्गौला फेल भयो।”

उनले औषधिको दुरुपयोग र पौष्टिक खानाको अभावले स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गरे। “पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?” भन्दै उनले आफ्नो अनुभव साझा गरे।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री ओलीले दुईपटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन्। कार्यक्रममा उनले नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत रहन र जोगाउने प्रयास गर्न सुझाव पनि दिए।