• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एन्फा साधारणसभामा गणेश थापालाई प्रवेश नदिएपछि तनाव सिर्जना

धुलिखेलमा आयोजित अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा शुक्रबार विवाद उत्पन्न भएको छ।

पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ का प्रतिनिधिका रूपमा सभामा सहभागी हुन आएका थिए, तर परिचय पास नभएको भन्दै उनलाई गेटमै रोकिएको छ ।

यस घटनापछि थापा र उनका छोरा गौरव थापासहितको समूहले प्रवेश निषेधको विरोधमा गेटमा नाराबाजी गरेका छन् ।

थापाले पहिले नै आरसी ३२ को प्रतिनिधित्व गर्न नदिने एन्फाको निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए, जहाँ अदालतले उनको पक्षमा फैसला गरेको थियो।

तर अदालतको आधिकारिक पत्र हालसम्म प्राप्त नभएको भन्दै एन्फाले उनलाई हलमा प्रवेश दिन अस्वीकार गरेको छ, जसले थापा अझै आक्रोशित बनेका थिए।

फिफाले थापालाई २०१५ अप्रिलमा १० वर्षका लागि फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने प्रतिबन्ध लगाएको थियो, जुन हालै वैशाखको पहिलो साता सकिएको हो।

थापामाथि भ्रष्टाचार र घुस लिएको आरोपमा फिफाको अनुशासन समितिले प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धको अवधिमा थापा सामाजिक सञ्जालमा एन्फाविरुद्ध आलोचना गरिरहन्थे र आफन्तमार्फत एन्फामा दबाब दिने प्रयास गरिरहेको एन्फा नेतृत्वको भनाइ छ।

२०७१ सालमा संसदको सार्वजनिक लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको आरोप लगाउँदै अख्तियारमा छानबिनका लागि सिफारिस गरे पनि अख्तियारले प्रमाण नपुगेको भन्दै मुद्दा फाँटमा राखेको थियो।

तर पछिल्लो महिनामा एन्फाले थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको भन्दै अख्तियार लगायतका निकायमा कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरेको छ।