भारत–पाकिस्तान विवादबीच ग्यास अभावको चर्चा, नेपाल आयल निगमले भने ‘आत्तिनु पर्दैन’

काठमाडौं । भारत–पाकिस्तानबीचको सम्भावित युद्धका कारण भारतमा इन्धन, विशेषतः एलपी ग्यासको अभाव हुने डरले उपभोक्ताहरूले ग्यास खरिदमा तीव्रता दिएका छन्।

ग्यास अभावको आशंकाले बजारमा खपत बढेपछि इन्डियन आयल कर्पोरेसन (IOC) ले सार्वजनिक रूपमा ग्यासको पर्याप्त आपूर्ति रहेको भन्दै उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ।भारतमा फैलिएको हल्लाको असर नेपालमा पनि पर्नसक्ने आशंका गरिए पनि नेपाल आयल निगमले भने इन्धन अभावको सम्भावना नरहेको स्पष्ट पारेको छ।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार हालसम्म सबै प्रकारका इन्धनको आपूर्ति सहज रुपमा भइरहेको छ र भारतीय पक्षबाट पनि कुनै सूचना प्राप्त नभएको छ। “अहिलेसम्म आपूर्तिमा कुनै अवरोध छैन, र भारतबाट पनि कुनै असामान्य सूचना आएको छैन,” उनले भने, “त्यसैले तत्काल अभावको सम्भावना देखिदैन।”

भारतको उत्तरी क्षेत्रमा रहेका एलपी ग्यास बोटलिङ प्लान्टहरू, विशेष गरी राजस्थान र पञ्जाबजस्ता पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा पर्ने भएकाले त्यहाँ युद्धको प्रभाव पर्नसक्ने अनुमान गरिएको हो। तर नेपालमा आउने ग्यास भने प्रायः बिहारको बरौनी रिफाइनरी, पश्चिम बंगालको हल्दिया, र उत्तर प्रदेशको मथुरा रिफाइनरीबाट आउने भएकाले ती क्षेत्रमा युद्धको असर पर्ने सम्भावना नरहेको निगमले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१