काठमाडौं । एक युवतीलाई नयाँ कपडा किनिदिने बहानामा भारतको रक्सौल पुर्याएर जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा पर्साबाट एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६, नगवाकी २० वर्षीया अलिया खातुन रहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार यही वैशाख २१ गते खातुनले एक युवतीलाई कपडा किन्न लगिदिन्छु भन्दै रक्सौल पुर्याएकी थिइन्। तर त्यहाँ पुर्याएर उनले ती युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाएको अनुसन्धानबाट खुलेको छ।
पीडित युवतीलाई उद्धार गरी नेपाल फर्काइएको प्रहरीले जनाएको छ। पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।यसअघि पनि खातुनले अन्य बालिकाहरूलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।