• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रपति पौडेलद्वारा बौद्ध ल्हाखाङ गुम्बामा पूजा-आराधना

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २५६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा पुगेर भगवान् गौतम बुद्धको पूजा, आराधना गरेका छन्।

बुद्धजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बौद्धनाथ पुगेर बौद्ध महाचैत्यको परिक्रमा गरेका थिए। उनले त्यहाँ प्रदर्शनीमा राखिएको भगवान् बुद्धको अमूल्य अस्तुधातु (पवित्र अवशेष) पनि दर्शन गरेका छन्।बिहानैदेखि बौद्धनाथ क्षेत्रमा भगवान् बुद्धको अस्तुधातु दर्शनका लागि भक्तजनहरूको बाक्लो भीड लागेको थियो। यस वर्षको बुद्धजयन्तीमा गौतम बुद्धका साथै काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तुधातु पनि दर्शनका लागि राखिएको थियो।

श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले यो व्यवस्था मिलाएको हो।यसै अवसरमा बुद्धको प्राचीन मूर्तिसहित शोभायात्रा निकाल्ने तयारी गरिएको छ। साथै ‘मेरो जन्म अरूका लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा पनि आजैदेखि सुरु हुने गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिए।

उक्त यात्राले भगवान् बुद्धको असीम ज्ञान, प्रज्ञा र करुणाको सन्देश विश्वभर फैलाउने विश्वास गरिएको छ। साथै, यसले नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बुद्धजयन्ती नेपालमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भव्य रूपमा मनाइन्छ। विशेष गरी बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भू र नमोबुद्धलगायत स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छ।