एक वर्षअघि पक्राउ पुर्जी जारी गरिएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थी आज लुम्बिनीमा आयोजना गरिएको बुद्ध जयन्ती कार्यक्रममा सहभागी भएका छन्।
पक्राउ पुर्जी जारी भइसकेको भए पनि उनी सार्वजनिक तथा प्रदेशसभाका कार्यक्रमहरूमा खुलेर सहभागी भइरहेका छन्। आजको कार्यक्रममा समेत उनी सम्मानित अतिथिका रूपमा मञ्चमा उपस्थित थिए, तर प्रहरीको कुनै प्रतिक्रिया देखिएको छैन।
एक वर्षदेखि अदालतबाट जारी पक्राउ आदेश प्रहरी कार्यालयहरूमा घुमिरहे पनि कारबाही अगाडि बढ्न सकेको छैन। मोरङ जिल्ला अदालतबाट जारी उक्त आदेश काठमाडौंको जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा, र रुपन्देहीसहितका प्रमुख प्रहरी इकाइहरूमा पुगिसकेको छ। तर, राजनीतिक पहुँचका कारण पन्थीमाथि कुनै कारबाही भएको छैन।
यो मुद्दा काठमाडौंस्थित गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. का सञ्चालक विष्णुप्रसाद पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध हो। उनीहरूलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा. लिले आपूर्ति गरेको विद्युतीय सामग्रीको पैसा नतिरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो।