राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए ।

‘राजा र पञ्चायतलाई गाली गरेर अब खानेदिन गए’, सत्ता साझेदार दल र एमालेप्रति लक्षित गरी उनले भने ‘देश र धर्म जोगाउने पार्टी राप्रपा हो । राजनीतिलाई पेशा, व्यवसाय बनाएर खानेहरूको जनताले आगामी चुनावमा बाक्सा खाली गरेर देखाइदिने छन् ।’

उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन पनि दिए ।

कार्यक्रममा देशभरबाट हजारौँ अन्य पार्टीका कार्यकर्ता राप्रपाप्रति नयाँ आशा र विश्वास लिएर पार्टी प्रवेश गरिरहेको उनकाे भनाइ थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१