काठमाडौँ । यात्रुको चाप बढेसँगै गुल्मीस्थित रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन नियमित उडान हुने भएको छ।
नेपाल एयरलाइन्सले अब आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीनपटक काठमाडौँ–रेसुङ्गा उडान सञ्चालन गर्ने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।
विगत केही महिनादेखि जहाज अभाव र मौसमको प्रतिकूलताका कारण नियमित उडानमा समस्या आइरहेको थियो। हाल नेपाल एयरलाइन्सको १८ सिट क्षमताको टुइनेटर विमान मर्मतपछि पुनः सेवा सञ्चालनमा आएको छ।
हाल काठमाडौँदेखि रेसुङ्गाको भाडादर रु ७,०८० र रेसुङ्गाबाट काठमाडौँको लागि रु ७,२८० तोकिएको छ।थापाका अनुसार बिहान ६:१० बजे काठमाडौँबाट रेसुङ्गा प्रस्थान गर्ने र ७:१५ बजे रेसुङ्गाबाट काठमाडौँ फर्कने तालिका तय गरिएको छ।
स्थानीय बासिन्दाहरूले हप्तामा तीन दिनको उडान सेवा सुरु भएपछि सहज यात्रा र क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छन्। स्थानीय मनोज कार्की भन्छन्, “उडान नियमित हुनु उत्साहजनक खबर हो, यसले पर्यटन र आवागमनमा ठूलो सहजता ल्याउनेछ।”