नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १५ गतेका लागि राजावादीहरूले घोषणा गरेको आन्दोलनलाई विफल पार्न पार्टी कार्यकर्ताहरूलाई सक्रिय हुन आग्रह गरेका छन्। सोमबार कर्णाली प्रदेशमा आयोजित वाईसीएल नेपालको पहिलो सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन्।
प्रचण्डले पूर्वपञ्चहरू एकजुट भएर आन्दोलनको तयारीमा लागेको बताए र त्यसलाई सशक्त ढंगले प्रतिवाद गर्न गाउँ–टोलमा पुग्नुपर्ने आवश्यकता औंल्याए। उनले राजावादी शक्तिहरूको ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’को पर्दाफास गर्नुपर्ने बताएका छन्।
उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा बढ्दो निराशा देखिएको र त्यसलाई राजावादीहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्न खोजेको आरोप लगाए। समाजवादी मोर्चाले हस्तक्षेप गरेपछि राजावादीको योजनाले गति नपाएको उनले दाबी गरे।
साथै, उनले राजसंस्थाको विगतको असफलता स्मरण गराउँदै जनतालाई राजावादीको धम्की र भ्रमको विरुद्ध एकजुट हुन अपिल गरेका छन्।