गाजाको अस्पतालमा इजरायलकाे हवाइ आक्रमण, कम्तिमा २८ जनाको मृत्यु

काठमाडाैं । इजरायलले मंगलबार साँझ गजाको दक्षिणी क्षेत्र खान युनिसमा रहेको युरोपियन गाजा अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा २८ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार, आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन्।

कतारबाट प्रकाशित हुने पत्रिका अल जजिराले मृतक संख्या ५६ रहेको दाबी गर्दै ५० भन्दा बढी घाइते भएको उल्लेख गरेको छ। बीबीसीले अस्पताल परिसरमा ६ वटा बम खसेको जानकारी दिएको छ। अस्पतालमै बम खसेपछि भवन ध्वस्त भएको र त्यसमा धेरै मानिस पुरिएको अस्पतालका डाक्टर सलेह अल हमासले बताएका छन्।

अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, इजरायली आक्रमणको लक्ष्य हमासका नेता मोहम्मद सिन्वर रहेका थिए। उनी गत अक्टोबरमा मारिएका हमास नेता याह्या सिन्वरका भाइ हुन्। मोहम्मद सिन्वरले अस्पताल रहेको जमिनमुनि हमासको कमान्ड तथा कन्ट्रोल केन्द्र सञ्चालन गरिरहेको दाबी गर्दै आक्रमण गरिएको सिएनएनले जनाएको छ।

तर, इजरायली डिफेन्स फोर्स (IDF) ले भने आक्रमण हमास लडाकूहरूको कमाण्ड सेन्टर लक्षित गरेर गरिएको हो भन्ने दाबी गर्दै विशेष नेता लक्ष्य नभएको स्पष्ट पारेको छ।

IDF ले मंगलबार राति गाजाबाट प्रहार गरिएका दुई रकेट निस्तेज पारिएको पनि जनाएको छ।

यसैबीच, हमासले सोमबार एक जना बन्धक मुक्त गरेको भए पनि इजरायलले हमासविरुद्धको कारबाही जारी राख्ने चेतावनी दिइसकेको छ।

युद्धको क्रममा दुईपटक युद्धविराम प्रयास भए पनि दीगो शान्ति कायम हुन सकेको छैन।

गत माघ ५ मा अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविरामसहित गजाको पुनर्निर्माणको सहमति भए पनि दोस्रो चरणको युद्धविराम असफल भएपछि इसराइलले पुनः आक्रमण तीव्र पारेको छ।

यसबीच, हमासले अपहरण गरी गजामा राखेका नेपाली नागरिक विपिन जोशीसहित ५८ जना अझै पनि हमासकै कब्जामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१