
काठमाडौं। इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ।
गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको आक्रमणमा ५० जनाको ज्यान गएको इन्डोनेसियाली अस्पतालले जनाएको छ। मृतकमध्ये २२ जना बालबालिका र १५ महिला छन्। नजिकैको अल–अव्दा अस्पतालले थप ९ जनाको शव प्राप्त गरेको जनाएको छ, जसमा ७ बालबालिका रहेका छन्।
इजरायली सेनाले हमास र प्यालेस्टिनी इस्लामिक जिहादका लडाकुहरूलाई लक्षित गर्दै उत्तर गाजामा आक्रमण गरिएको दाबी गरेको छ। मंगलबार इजरायलतर्फ रकेट प्रहार भएपछि सेनाले जबालिया र वरपरका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो।
यता, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा जारी हिंसा र नरसंहार रोक्न सुरक्षा परिषद्का सदस्यहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।