बुटवलमा एक व्यापारी उपभोक्तालाई ठगी गर्दै बाख्राको मासुलाई “बोका” को नाममा बेचिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। बुटवल उप–महानगरपालिका–१, जितगढीका ३४ वर्षीय मेराज शाहलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार, शाहले विभिन्न स्थानबाट बाख्रा किनेर घरमै काट्ने र त्यसलाई “घरमै काटिएको खसीबोकाको मासु” भनेर आफ्नो मासु पसलबाट बिक्री गर्दै आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।
जाँचको क्रममा प्रहरीले उनलाई घरमै बाख्रा काट्दै गरेको अवस्थामा भेटेको थियो। साथै, प्रहरीले ३ वटा बोरामा राखिएको करिब ४१ किलो मासु र बाख्राका काटिएका विभिन्न अंगसमेत फेला पारेको छ।
डिएसपी कार्कीले बताएअनुसार शाहमाथि कालो बजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।