काठमाडौं , धनीपुर्जादेखि बैंक स्टेटमेन्ट, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र मेडिकल रिपोर्टसम्म नक्कली बनाउँदै आएको गिरोह काठमाडौंमा पक्राउ परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्ते कागजात बनाउने कार्यमा संलग्न एक युवतीसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गोर्खाका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाका २८ वर्षीय निर्मल खड्का र मकवानपुरकी २३ वर्षीया अन्जु खत्री छन्।
उनीहरूले तारकेश्वर नगरपालिका–७, फुटुङमा बसेर विभिन्न सरकारी कार्यालय, बैंक, शैक्षिक संस्था तथा स्थानीय तहका कागजात नक्कली बनाउँदै आएका थिए।
एसपी काजी आचार्यका अनुसार जापान लगायत वर्किङ भिसा चाहिने देशका लागि शैक्षिक प्रमाणपत्र, अनुभव पत्रदेखि ‘क’ वर्गका बैंक स्टेटमेन्ट, मनमोहन मेमोरियल, सल्यान र वीर अस्पतालका नक्कली मेडिकल रिपोर्ट समेत बनाइदिने गरेका थिए।