• २०८३ जेठ २२
  • 2026 June 05, Friday

टिकटक लाइभकै दौरान ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या

मेक्सिको सिटी ।मेक्सिकोको जलिस्को राज्यको सापोपान नगरपालिकामा २३ वर्षीया ब्युटी इन्फ्लुएन्सर भलेरिया मार्केजको गोली हानी हत्या भएको छ। उनी आफ्नो ब्युटी सैलुन ‘ब्लस्सम द ब्युटी लाउन्ज’मा टिकटक लाइभ स्ट्रिमिङ गरिरहेका बेला एक व्यक्तिले उनलाई गोली हानेका थिए।

घटनामा उनी छाती र टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। हत्या गर्ने व्यक्तिले डेलिभरी म्यानको भेषमा सैलुनमा प्रवेश गरी सोधपुछ गरेपछि गोली प्रहार गरेका थिए। घटनाको भिडियोमा मार्केजले आफ्नो पिठ्यूँ समातेर ढल्दै गर्दा देखिन्छ।

घटनापछि हत्यारा मोटरसाइकलमा फरार भएको र प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।मार्केज टिकटकमा १००,००० भन्दा बढी फलोअर्स भएकी एक लोकप्रिय इन्फ्लुएन्सर थिइन्। उनले ब्युटी र लाइफस्टाइलसम्बन्धी सामग्रीहरू साझा गर्थिन्।

घटनाको केही घण्टा अघि उनले सैलुनबाट सेल्फी पोस्ट गरेकी थिइन्। यस घटनालाई मेक्सिकोमा लिङ्गीय हिंसाको रूपमा अनुसन्धान गरिरहेको छ। मेक्सिकोमा महिलामाथि हुने हिंसाका घटनाहरू बढ्दै गएको चिन्ता व्यक्त गरिएको छ।यसै दिन, सोही क्षेत्रमा मेक्सिकन पूर्व कांग्रेसी लुइस अर्मान्डो कोर्डोभा डियाजको पनि गोली हानी हत्या भएको छ। यस घटनाले मेक्सिकोमा हिंसा र असुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।