प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी (कर प्रस्तावबाहेक) सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने भएका छन्।
गत वैशाख ३० गतेदेखि सुरु भएको छलफलको क्रम आज सकिनेछ। संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार छलफलपछि पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा सांसदहरूको बोल्ने समय तोकेको थियो। आजको बैठकपछि बजेट प्रक्रियाको अर्को महत्वपूर्ण चरण आरम्भ हुनेछ।
प्रतिनिधिसभामा चलिरहेको यो बहस राजनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त चासोको विषय बनेको छ।