छिनछिनमा जाने बिजुलीप्रति उपभोक्ताको गुनासो, प्राधिकरणको यस्तो छ जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका देखिएको विद्युत आपूर्ति अवरोधलाई लोडसेडिङसँग जोडिएको सामाजिक सञ्जालको दावी भ्रामक भएको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले प्राविधिक समस्या र मौसमजन्य कारणले विद्युत आपूर्तिमा अवरोध आएको स्पष्ट पारे। “इनभरटर र मैनबत्तीका दिन फर्किएको भनेर सामाजिक सञ्जालमा गरिएको टिप्पणी निराधार छ,” उनले भने, “नेपालमा लोडसेडिङ पुनः सुरु हुने कुनै अवस्था छैन।”

शाक्यका अनुसार ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइन दुवै सर्किटमा एकैसाथ समस्या आएपछि आपूर्ति अचानक अवरुद्ध भएको हो। ढल्केवर आसपासमा आएको तेज हावाहुरीका कारण लाइनमा समस्या देखिएको उनले जानकारी दिए।

बेलुकाको समयमा लोड अत्यधिक हुने भएकाले वैकल्पिक व्यवस्था गर्न खोज्दा सफल हुन नसकेको पनि उनले स्पष्ट पारे। भारततर्फबाट विद्युत ल्याउने अन्य लाइनमार्फत आपूर्ति मिलाउने प्रयास गरिए पनि प्रणाली अस्थिर हुँदा लाइन ट्रिपिङ भई समस्या समाधान गर्न कठिन भएको उनको भनाइ थियो।

विद्युत प्रणालीमा देखिने यस्ता समस्या दीर्घकालीन रूपमा समाधान गर्न प्राधिकरण प्रतिबद्ध रहेको उनले बताए। “हामी तत्काल, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छौं,” शाक्यले भने।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१