
काठमाडौँ। इजरायलले आफ्नो सैन्य अभियानलाई थप तीव्र बनाउने घोषणा गरेको एक दिनपछि, गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ जना मृत्युमुखमा परेका बताएका छन्।
तीमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन्।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरूले बसोबास गरिरहेका पालमाथि बिहान भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने कम्तीमा १०० जना घाइते भएका छन्।
उत्तरी गाजाको जबालियास्थित एक घरमा भएको आक्रमणमा थप सात जनाको मृत्यु भएको जानकारी दिँदै बासलले सोही क्षेत्रमा रहेको अल–अवदा अस्पतालमा पनि क्षति पुगेको उल्लेख गरे। उनका अनुसार अल–जवायदाको केन्द्रीय क्षेत्र र दक्षिण गाजाको खान युनिसमा पनि मृत्युको घटना रेकर्ड भएको छ।
इजरायली सेनाले शनिबार घोषणा गर्दै १९ महिनाभन्दा बढी समयदेखि जारी युद्धमा हमास लडाकूहरूविरुद्ध गाजाभरि सैन्य अपरेसन तीव्र बनाएको जनाएको थियो। यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजामा मानवीय संकट झन् गहिरिँदै गएको छ, जसप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो चिन्ता व्यक्त गर्दै आएको छ।