• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काभ्रे घटनामा संसदको ध्यानाकर्षण : उपेश परियारको हत्या भएको भन्दै , दोषीलाई कडा कारबाहीको माग

काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको ज्यान गएको घटनाले प्रतिनिधिसभामा चर्चा पाएको छ।

सर्लाही ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश परियारको शनिबार धुलिखेल नगरपालिका–७ मा रहेको विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। घटनाको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको भन्दै विभिन्न दलका सांसदहरूले संसद्मा आवाज उठाएका छन्।

नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान दोङले प्राधिकरणले काम गर्ने क्रममा उचित सूचना नदिएर विद्युत् प्रवाह गरेकाले मजदुरको ज्यान गएको बताए। उनले सत्यतथ्य छानबिनको माग गरे।

रास्वपाका सांसद शिव नेपालीले सुरक्षा उपकरणको अभावमा श्रमिकहरूलाई काममा खटाइनु आम समस्या भएको उल्लेख गर्दै दोषीलाई कारबाही र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरे।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले यो घटनालाई राज्यद्वारा गरिएकाे हत्या सरह भएको भन्दै पोलमा मजदुर रहेको अवस्थामा बिजुली प्रवाह गर्नु आपराधिक कार्य भएको बताए। उनले दोषीमाथि कानुनी कारबाहीको माग गरे।