
गाजा सिटी। इजरायलले गाजामा आफ्नो सैन्य अभियानलाई थप विस्तार गर्ने घोषणा गरेको एक दिनपछि, आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ। मृतकमध्ये आधाभन्दा बढी बालबालिका रहेका छन्।
नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार दक्षिणी गाजाको अल–मवासी क्षेत्रमा विस्थापित प्यालेस्टिनीहरू बसोबास गर्दै आएका पालहरूमा बिहान भएको हवाई आक्रमणमा ५० जनाको मृत्यु भएको हो। यस घटनामा करिब १०० जना घाइते भएका छन्।
त्यस्तै, उत्तरी गाजाको जबालिया क्षेत्रमा एक घरमाथि गरिएको आक्रमणमा ७ जनाको मृत्यु भएको छ। जबालियाकै अल–अवदा अस्पताल पनि आक्रमणबाट क्षतिग्रस्त भएको जनाइएको छ। बासलका अनुसार अल–जवायदा र खान युनिस क्षेत्रहरूमा पनि थप मृत्युका घटना रेकर्ड गरिएको छ।
शनिबार इजरायली सेनाले गाजाभरि आफ्नो अपरेसनलाई तीव्र पार्ने घोषणा गरेको थियो। यो सैन्य कदम करिब १९ महिनादेखिको हमाससँगको द्वन्द्वलाई समाप्त गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।
यसबीच, गाजामा इजरायली नाकाबन्दीका कारण खाद्य, पानी, औषधि र अन्य अत्यावश्यक सामग्रीको चरम अभावले मानवीय संकट गहिरिँदै गएको छ। अन्तर्राष्ट्रिय समुदायले इजरायलको कारबाही र मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएको छ।