टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेत तामझामसहित सिन्धुपाल्चोक पुगेका छन्।
उनि पुगे लगत्तै स्वास्थ्य चौकी र खानेपानी योजनाको उद्घाटन गर्ने कार्यक्रम लिएर जिल्लामा आएको प्रचार गरिएको थियो। एमाले, माओवादी र स्थानीय पालिकाको असहमति बेवास्ता गर्दै उनी शक्ति प्रदर्शनका साथ आएका हुन्।
मोटरसाइकल र गाडीको र्यालीसहित कार्यकर्ताको नाराबाजी गर्दै लिसंखुपाखर गाउँपालिका–२ को निगाले नारगाउँ खानेपानी आयोजना उद्घाटन गरिएको छ। कांग्रेसले जितेको उक्त वडामा ‘मोहन बस्नेत जिन्दावाद’ भन्दै स्वागत गरिएको थियो।
तर गाउँपालिका अध्यक्ष राजु लामाले भ्रष्टाचार अभियोगमा मुछिएको व्यक्तिबाट उद्घाटन नगरियोस् भन्दै सार्वजनिक रूपमा चेतावनी दिएका थिए। उनले विज्ञप्ती जारी गर्दै पालिकाको सहमतिबेगर उद्घाटन नगर्न र जनप्रतिनिधि तथा कर्मचारीलाई पनि उपस्थित नहुन भनेका थिए ।

यस्तै, सुनकोशी गाउँपालिकाका अध्यक्षले पनि अनुमति नलिएर जबर्जस्ती उद्घाटन गरे कानुनी कारबाही भोग्न तयार रहनुपर्ने चेतावनी दिएका छन्। बस्नेत भोलि ठोकर्पा स्वास्थ्य चौकी भवन उद्घाटनको तयारीमा छन्।