• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सम्झौताअनुसार भारत–नेपाल सीमाका बाँकी नाका खोल्न भारतीय नेतासँग आग्रह

प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति तथा सांसद अब्दुल खानले नेपाल–भारत सीमामा अवरुद्ध रहेको नाका खोल्न भारतीय जनता पार्टी (भाजपा)का नेता डा. विजय जोलीमार्फत भारतीय सरकारको ध्यानाकर्षण गराएका छन्।

खानले सोमबार डा. जोलीलाई औपचारिक पत्र पठाउँदै सन् २००९ मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह र नेपाली प्रधानमन्त्री माधवकुमार नेपालबीच भएको सहमतिअनुसार खोलिनुपर्ने पाँचवटा सीमा नाकामध्ये हालसम्म चारवटा मात्रै सञ्चालनमा आएको तर एउटा अझै नखुलेको जनाएका छन्।

खानका अनुसार बाँकी रहेको उक्त नाका नेपालको बर्दिया जिल्ला र भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको सीमाक्षेत्रमा पर्दछ। भारततर्फको लौकही–राजनवा र नेपालतर्फको गणेशपुर–रत्नपुर क्षेत्रलाई उपयुक्त नाका खोल्ने स्थानका रूपमा उनले पत्रमा उल्लेख गरेका छन्।

सीमा बन्दको कारण स्थानीय जनतालाई आवागमन, व्यापार, स्वास्थ्य, शिक्षा तथा पारिवारिक सम्पर्कमा कठिनाइ भएको र दुवै देशको राजस्व संकलनमा असर परेको भन्दै खानले नाका खोल्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, उनले सीमामा चोरी, तस्करी र अनधिकृत आवतजावत सामान्य हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

खानले यो विषय नेपाल सरकारमार्फत संसदमा पटक–पटक उठिसकेको उल्लेख गर्दै नेपालतर्फ भन्सार कार्यालय खोल्न तयार रहेको स्पष्ट पारेका छन्। उनले भारतले पनि त्यही अनुरूप भन्सार कार्यालय स्थापना गरी सन् २००९ को समझदारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

अन्त्यमा, उनले डा. जोलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष यो विषय तत्काल उठाइदिन अनुरोध गर्दै सीमा नाका सञ्चालनले दुई देशबीच व्यापार, संस्कृति तथा जनस्तरको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।