डा. सिके राउत नेतृत्वको जनमत पार्टीभित्र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमाथि लगाइने शुल्क र लेवी संकलनमा अनियमितता देखिएपछि उक्त कार्य बन्द गरिएको छ। हालै सम्पन्न पार्टीको केन्द्रीय सचिवालय बैठकले गैरआवासीय मधेसी संघ (एनआरएमए) बाट अब कुनै पनि शुल्क वा लेवी नउठाउने निर्णय गरेको हो।
विदेशमा रहेका पार्टी समर्थक तथा सदस्यहरूबाट संकलन गरिएको रकमबाट काठमाडौँमा होटल खरिद, अन्य स्थानहरूमा घरजग्गा किनिएको खुलासापछि पार्टीभित्र तीव्र विवाद चर्किएको थियो। सोही विवादका कारण पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि कारबाही गरेको छ। यादवविरुद्ध मुद्दा दायर भइसकेको छ र उनी हालै पाँच लाख धरौटीमा रिहा भएका छन्। पार्टी स्रोतका अनुसार आर्थिक पारदर्शिता कायम गर्न र आन्तरिक सुधार ल्याउन अब सबै प्रकारका आर्थिक संकलन बन्द गरिएको हो।
यस निर्णयले एनआरएमएमा समेत प्रत्यक्ष प्रभाव पारेको छ। डा. राउतको प्रमुख आतिथ्यमा बसेको अन्तर्राष्ट्रिय समितिको बैठक र पछिल्लो सचिवालय निर्णयअनुसार अब विश्वभर रहेका सदस्यहरूसँग लेवी वा सदस्यता शुल्क उठाउने कार्य पूर्ण रूपमा बन्द गरिएको छ। कार्ड छपाइका लागि चाहिने खर्चबाहेक अन्य शुल्क लिन नपाइने व्यवस्था गरिएको छ भनी पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
पार्टीले सबै सदस्यहरूको विवरण अद्यावधिक गर्न आह्वान गरेको छ। सदस्यता फारम बुझाउँदा नागरिकताको विवरण अनुसार नाम, जिल्ला, पालिका र वडा स्पष्ट उल्लेख गर्नुपर्नेछ। प्रमुख मण्डलकाअनुसार अद्यावधिक सूचीमा नपरेका नेताहरूलाई पार्टीका कुनै पनि संरचना वा निर्वाचनमा सहभागी हुन नदिने नीति लिइएको छ।
यो निर्णयलाई जनमत पार्टीले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्ने दिशामा उठाइएको ठोस कदमका रूपमा लिएको छ। अब पार्टीको प्राथमिकता संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण र आन्तरिक शुद्धीकरणमा केन्द्रित हुने बताइएको छ।