अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी : देश नर्कमा गइरहेकाे छ

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन् ।

ट्रम्पले शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त भइरहेकाे छ । हाम्रो देश नर्कमा गइरहेकाे छ । हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।’

बाइडेनलाई केही थाहा नभएकाे जिकीरसहित उनले भने, ‘हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दु:खको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन । उनी हावासँग हात मिलाइरहेका छन्, उनी चिन्तित छन्… र इस्टर बन्नीबाट अर्डर लिरहन्छन् ।’ उनले थपे, ‘जबकि [रूसी राष्ट्रपति भ्लादिमिर] पुटिनले आणविक हतियार र संसार नष्ट गर्ने कुरा मात्र गरिरहेका छैनन् ।’

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन् ।

मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ- बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुन: चुनाव लड्न लागेको कुरा बताएका थिए । बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकामा आयाेजित अधिकांश र्‍यालीमा सम्भावनाको सङ्केत दिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१