• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मेचीनगरमा आगलागी, ११ लाखको क्षति; भद्रपुरमा कल्भर्टबाट लडेर एकको मृत्यु

काठमाडौं।  झापाको मेचीनगरमा भएको आगलागीमा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–९ थोप्ले विरानका मणिराज अधिकारीको घरमा आज बिहान आगलागी हुँदा करिब १० लाख ८० हजार रुपैयाँ बराबरको क्षति पुगेको हो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार विद्युत सर्ट हुँदा घरमा आगो लागेको थियो। आगलागीका कारण लत्ताकपडा, भाँडावर्तन, फर्निचरलगायत सबै सामग्री जलेर नष्ट भएका छन्। आगो स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

यसैबीच, झापाकै भद्रपुर नगरपालिका–१० का निवासी निगे राईको लडेर मृत्यु भएको छ। भद्रपुर–९ डाँगीबारीस्थित भित्री सडकमा रहेको एक कल्भर्टबाट लडेर आज बिहान उनको ज्यान गएको हो।

प्रहरीका अनुसार सडकबाट करिब १० फिट तल रहेको कल्भर्टमा खस्दा राईको घटनास्थलमै मृत्यु भएको हो। बिहान ८ बजे घरबाट निस्केका उनी कुन कारणले लडे भन्ने स्पष्ट नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।