• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पाकिस्तानको दक्षिण पश्चिम क्षेत्रमा विस्फोट, चार बालबालिकाको मृत्यु

इस्लामाबाद। दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको खुज्दर जिल्लामा विद्यालयको बसलाई लक्षित गरी गराइएको आत्मघाती बम विस्फोटमा चार बालबालिकाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

खुज्दरका सरकारी अधिकारी यासिर इकबाल दाश्तीका अनुसार, विस्फोट बिहानको समयमा विद्यार्थीहरूलाई विद्यालय लैजाँदै गरेको बसमा भएको हो। ती बस सेनाको सरकारी विद्यालयको रहेको बताइएको छ, जहाँ सेनाका कर्मचारीका साथै सर्वसाधारण नागरिकका पनि छोराछोरी अध्ययनरत थिए।

विस्फोट खुज्दरको जिरो प्वाइन्ट नजिकै भएको हो। पाकिस्तानका आन्तरिक मन्त्री मोहसिन नक्भीले घटनाको कडा निन्दा गरेका छन्।

घटनापछि अधिकारीहरूले घाइतेहरूको अवस्थालाई मध्यनजर गर्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।यस आतङ्कवादी आक्रमणको जिम्मेवारी तालिबानसम्बद्ध सशस्त्र समूह तेहरिक–ए–तालिबान पाकिस्तान (TTP) ले लिएको छ।