नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति सत्तारुढ दलकै सांसद हुनु उपयुक्त नहुने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभाअन्तर्गतको समितिमा विवाद भएको छ।
बुधवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा पोखरा विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेका बेला सांसद मोदीले सभापतिको भूमिकाबारे टिप्पणी गरेपछि बैठक तनावपूर्ण बनेको हो।
मोदीले प्रधानमन्त्री एमालेकै रहेको र सार्वजनिक लेखा समितिको सभापति पनि एमालेकै सांसद हुनु अन्यायपूर्ण भएको बताए। उनले सबै जिम्मेवारी सत्तारुढ दलकै काँधमा हुँदा निष्पक्षता प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरे। उनले भने, “प्रधानमन्त्री तपाईँहरूको, सभापति पनि तपाईँहरूकै, फरक मत पनि तपाईंहरू नै राख्नुहुन्छ भने निष्पक्षता कसरी कायम हुन्छ?”
मोदीको यो भनाइपछि एमालेका सांसदहरू प्रतिवादमा उत्रिए। गोकुल बास्कोटा, योगेश भट्टराईलगायतका सांसदहरूले बोल्दै विवाद चर्किए। मोदीले आफूलाई बोल्न नदिएको गुनासो गर्दै भने, “सभापति तपाईँहरूकै हुनुहुन्छ भने निष्पक्षता कसरी हुन्छ भनेर मात्र प्रश्न गरिरहेको छु।”
विवाद बढ्दै गएपछि सभापति ऋषिकेश पोखरेलले बैठकमा शान्ति कायम राख्न आग्रह गरे। उनले समितिको सदस्यहरूले दलगत हिसाबले होइन, साझा जिम्मेवारीका हिसाबले छलफल गर्नुपर्ने बताए।
त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह र एमाले सांसदहरूबीच पनि भनाभन भयो। एमाले सांसद भट्टराईले सिंहलाई लक्षित गर्दै “तपाईं को हुनुहुन्छ मलाइ डिक्टेट गर्ने?” भनेर निकै आक्रोस हुदै प्रश्न गरेका थिए ।
त्यसपछी योगेसले एमाले सांसद विनै बैठक गर्नुस् न त भन्दै झोक्किएका पनि थिए ।
माओवादी सांसद लेखनाथ दाहालले पनि हस्तक्षेप गरेपछि स्थिति अझै तन्कियो।
सभापति पोखरेलले फेरि बैठक शान्त बनाउन आग्रह गर्दै सबै सदस्यलाई जिम्मेवार ढंगले प्रस्तुत हुन भने। पोखरेलले “ल अमन मोदी कुरा सुरु गर्नुस् भनेर आदेश दिए
त्यस क्रममा मोदीले आफ्नो नाम सही उच्चारण गर्न आग्रह गर्दै “अमन मोदी होइन, अमनलाल मोदी हो” भने । मोदिले यसो भन्दा बैठक हलमा रहेका अधिकांश सांसद हासेका थिए ।
सभापतिले त्यसपछि उनलाई ‘पूर्वमन्त्री आदरणीय अमनलाल मोदी’ भन्दै सम्बोधन गरे। तर मोदीले पूर्वमन्त्री भन्न आवश्यक नरहेको टिप्पणी गरेका थिए ।
बैठकमा ढिलो गरि आएका एमाले सांसद गोकुल बास्कोटालाई सभापतिले सुरुमै बोल्ने पालो छुट्याउदा , सुरुमै गोकुल बोल्ने क्रममा अमनलालको र गोकुलको भनाभन भएको थियो ।