
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा बीचको हालैको भेटवार्ता निकै तनावपूर्ण बनेको छ। वाशिङ्टन डीसीस्थित ह्वाइट हाउसमा भएको यो संवादलाई अमेरिकी सञ्चारमाध्यमहरूले यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको भएको विवादास्पद भेटको सन्दर्भमा तुलना गरेका छन्।
यद्यपि यसपटक खुला झडप नभए पनि ट्रम्पका आक्रामक टिप्पणीहरू र रामाफोसाको संयमित जवाफले भेटलाई तनावपूर्ण बनाएको थियो। ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत किसानहरू लक्षित भएर हत्या भइरहेको र सरकारले त्यसमा कुनै ठोस कदम नचालेको आरोप लगाए। उनले यस सन्दर्भमा संसदका दृश्य, चिहानहरू देखाउँदै प्रमाण पेस गर्न खोजे।
रामाफोसाले ती दाबीहरूलाई प्रमाणविहीन र भ्रामक भन्दै अस्वीकार गरे। उनले साथमा आएका श्वेत व्यापारी तथा खेलाडीहरूको उपस्थिति देखाउँदै देशमा श्वेतहरू असुरक्षित नभएको प्रस्ट पारे। साथै, उनले अपराध दरमा अश्वेतहरूको संख्याभन्दा श्वेतहरूको संख्या कम रहेको उल्लेख गरे।
रामाफोसाले मुलुकको संविधान, लोकतान्त्रिक संरचना, र विवाद समाधानका लागि संवादको महत्वमा जोड दिए। उनले ट्रम्पसँग व्यापार, प्रविधि तथा खनिज सहयोगबारे गम्भीर छलफल गर्न चाहेका थिए। तर ट्रम्पले भेटको अधिकांश समय श्वेत किसानहरूको सुरक्षा र दक्षिण अफ्रिकाको जमिन अधिग्रहण नीति प्रति आपत्ति जनाउँदै बिताए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, दुई देशबीच दक्षिण अफ्रिकाका खनिज स्रोतमा साझेदारी गर्ने सहमति भएको छ। तर ट्रम्पले दक्षिण अफ्रिकाको नयाँ जमिन कानुन र इजरायलविरुद्ध आइसिजेमा दायर मुद्दाका कारण अमेरिकाले सहयोग रोक्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
श्वेत अल्पसंख्यकहरूलाई लक्षित गरी दक्षिण अफ्रिकाले ल्याएको भनिएको जमिन अधिग्रहण कानुनको उनले कडा विरोध गर्दै त्यहाँबाट शरण लिन चाहने श्वेत नागरिकलाई अमेरिका ल्याउने प्रक्रिया सहज बनाउने बताउँदै विदेशमन्त्री मार्को रूबियोलाई जिम्मेवारी पनि दिएका छन्।
केही दिन अघि मात्रै ४९ जना श्वेत दक्षिण अफ्रिकीहरू शरणार्थीका रूपमा अमेरिका आइपुगेको तथ्यसहित ट्रम्पले दक्षिण अफ्रिकामा श्वेत समुदायको अवस्था प्रति गहिरो चासो व्यक्त गरे।