केएमसीमा नेपालमै पहिलोपटक दुर्लभ रोग ‘हाइपरम्याङ्गानेसेमिया’ को सफल उपचार

काठमाडौँ। नेपालमै पहिलोपटक काठमाडौँ मेडिकल कलेज (केएमसी) मा एक अत्यन्तै दुर्लभ मानिने ‘हाइपरम्याङ्गानेसेमिया एसएलसी 30 A 10 म्युटेसन (HMNDYT1)’ नामक स्नायु सम्बन्धी रोगको सफल उपचार भएको छ। यस उपचारबाट अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–१ की २१ महिनाकी बालिका आध्या बिक पूर्ण रूपमा स्वस्थ भएकी छिन्।

सुरुसुरुमा सामान्य रूपमा हिँडडुल गर्न थालेकी आध्या पछिल्लो समय एक्कासी हिँड्न नसक्ने अवस्थामा पुगेपछि उनको परिवार गम्भीर चिन्तामा परेको थियो।

धेरै ठाउँमा उपचार प्रयास सफल नभएपछी आध्यालाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ल्याइयो, जहाँ नेपालकै पहिलो डीएम (डक्टोरेट अफ मेडिसिन) पेडियाट्रिक न्युरोलोजिस्ट डा. सन्तोष मिश्रको नेतृत्वमा रहेको टोलीले उनको परीक्षण गर्‍यो।

एमआरआई तथा अन्य आवश्यक जाँचपश्चात् डा. मिश्रले आध्यालाई हाइपरम्याङ्गानेसेमिया भएको पुष्टि गरेका थिए, जुन रोग विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र यसले मस्तिष्क तथा स्नायु प्रणालीमा गम्भीर असर पार्दछ।

यो रोगको उपचार अत्यन्त चुनौतीपूर्ण भए तापनि डा. मिश्र र उनको विशेषज्ञ टोलीले तत्काल उपचार प्रक्रिया सुरु गर्‍यो। केही हप्ताको उपचारपछि आध्या पूर्णरूपमा स्वस्थ भई पुनः हिँड्न सक्ने भएकी छिन्। छोरीको सफल उपचारपछि आमा मनिषा बिकले भनिन्, “छोरी कहिल्यै हिँड्न सक्दिन कि भनेर डराएका थियौं, तर डा. सन्तोष मिश्रज्यूले आशाको उज्यालो फर्काइदिनुभयो।”

नेपालमा बाल न्युरोलोजी सेवा अझै प्रारम्भिक चरणमा रहेको अवस्थामा यति जटिल रोगको सफल पहिचान र उपचारलाई ऐतिहासिक मानिएको छ। डा. मिश्र बालबालिकामा देखिने मस्तिष्क, स्नायु प्रणाली, विकासजन्य विकार र मिर्गौला सम्बन्धी समस्याका विशेषज्ञ हुन्।

केएमसीको यो महत्वपूर्ण सफलतालाई नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका सांसद डा. सुनिल शर्माको कुशल नेतृत्व र दूरदृष्टिको प्रतिफलका रूपमा लिइएको छ। डा. शर्माको स्वामित्वमा रहेको केएमसीलाई उनले चिकित्सा सेवामार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्।
डा. शर्मा प्रतिनिधिसभाको तलब–भत्ता नलिने एकमात्र सांसद हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् र त्यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्यलाई निरन्तरता दिएका छन्।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ, जहाँ पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्। हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नुका साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई थप बलियो बनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१