• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

नेपालमा मस्तिष्क मृत्यु भएका दाताबाट पहिलोपटक कलेजो–मिर्गौला प्रत्यारोपण

काठमाडौं। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गर्न सफल भएको छ।

केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका दाताबाट लिइएका अंगहरू तीन जना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको जानकारी दिए।

उनका अनुसार यही जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय एक पुरुषबाट दुईवटा मिर्गौला र एकवटा कलेजो निकालिएको थियो। ती अंगहरू काठमाडौँ मेडिकल कलेजमार्फत प्राप्त भएको थियो।

तीमध्ये एकवटा मिर्गौला र कलेजो एउटै व्यक्तिमा प्रत्यारोपण गरिएको छ भने अर्का एक ४२ वर्षीया महिलामा अर्को मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको डा. श्रेष्ठले बताए।

“विश्वमै दुर्लभ मानिने यस्ता प्रत्यारोपण नेपालमा पहिलो पटक सफल भएको छ,” डा. श्रेष्ठले भने, “दुवै बिरामीको स्वास्थ्य अवस्था सन्तोषजनक छ, केही दिनभित्रै उनीहरू घर फर्किने छन्।” यो उपलब्धिसँगै नेपालमा अंग प्रत्यारोपण सेवा थप उन्नत चरणमा प्रवेश गरेको केन्द्रले जनाएको छ।