• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भन्सार अधिकृतमाथि कुटपिट गरेको अभियोगमा प्रहरी निरीक्षकसहित चार जना पक्राउ

काठमाडौं।  कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा निरीक्षक धामीसहित उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, प्रमुख तिमिल्सिनाले अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दायर गरेपछि उक्त आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार, शनिबार राति नगर प्रहरीको टोली कैलाली भन्सार कार्यालयमा प्रवेश गरी प्रमुख भन्सार अधिकृत तिमिल्सिनामाथि कुटपिट गरेको थियो। घटनाको पुष्टि कार्यालयमा जडान गरिएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि भएको हो।

प्रहरी निरीक्षक धामीलाई कञ्चनपुरको झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान नियन्त्रणमा लिइएको हो। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।