संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको १७ वर्ष पुगेको अवसरमा, जेठ १५ गते राजधानी काठमाडौँमा गणतन्त्रविरोधी समूहहरूले प्रदर्शन गर्ने तयारी गरेका छन्। पूर्वराजाको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका समूहहरूले उक्त दिन प्रदर्शनको आह्वान गरेका हुन्। त्यसै दिन सत्तारूढ दल नेकपा (एमाले)ले पनि उपत्यकामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।
प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङले काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यरत सुरक्षा इकाईका प्रमुखहरूलाई बुधबार बिहान भृकुटीमण्डपस्थित पुलिस क्लबमा ब्रीफिङ गरेका छन्। ब्रीफिङमा तीनवटै जिल्लाका १८ वटा वृत्तका प्रमुख र प्रहरी प्रभागका इन्स्पेक्टरहरू सहभागी थिए।
एआईजी तामाङले सबै इन्चार्जहरूलाई आ–आफ्नो क्षेत्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिँदै संयमता अपनाउन आग्रह गरेका छन्। उनले राजावादी समूहको गतिविधि र योजना सम्बन्धी जानकारी संकलन गर्न पनि मातहतलाई निर्देशन दिएका छन्।
भीड नियन्त्रणको क्रममा प्रहरी आफैँ सुरक्षित रहनुपर्नेमा समेत उनले जोड दिएका छन्। उनले भने, “शान्ति र सुरक्षाको व्यवस्था राम्रोसँग गर्नुहोस्, तर आफ्नै सुरक्षालाई पनि बेवास्ता नगर्नुहोस्।”
त्यस्तै, प्रदर्शनका समयमा भीआईपी र भीभीआईपीहरूको निवास, कार्यालय तथा अन्य महत्त्वपूर्ण संरचनाहरूको सुरक्षा व्यवस्था कडा बनाउन उनले निर्देशन दिएका छन्। उनका अनुसार, “हामीले विशिष्ट व्यक्तित्वहरूको साथै मुख्य प्रतिष्ठानहरूको सुरक्षा पनि पूर्णरूपमा सुनिश्चित गर्नुपर्छ।”