• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन घुमाउँदै– गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिन गरे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अवरोध हटाई गृहमन्त्री रमेश लेखकलाई बोल्ने अवसर दिन आग्रह गर्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन्। भिजिट भिसा काण्ड र बिहीबार सरकारद्वारा संसद्‌मा प्रस्तुत गरिन लागिएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल गर्न प्रचण्डले विपक्षी दलहरूको बैठक आह्वान गरेका थिए।

बैठकको क्रममा प्रधानमन्त्रीको फोन आएको जानकारी माओवादी सांसद लेखनाथ दाहालले दिएका हुन्। उनका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्रीले संसद्‌मा जवाफ दिन पाउनु पर्ने बताउँदै अवरोध हटाउन आग्रह गरेका थिए।

तर प्रचण्डले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नगरेसम्म संसद्‌ अवरोध यथावत् रहने स्पष्ट पारेका छन्। यद्यपि बजेटलाई लिएर सकारात्मक सोच राख्न सकिने संकेत पनि दिएका छन्। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्‌ चल्न नदिने अडान दोहोर्याएका छन्।