• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादी आन्दोलन:तीनकुने घटनाको पुनरावृत्ति हुनसक्ने नवराज सुवेदीको चेतावनी

संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गतेको आन्दोलनलाई लिएर सरकारबाट नियोजित आक्रमण हुन सक्ने आशंका व्यक्त गर्दै मानवअधिकारवादी संस्था र सञ्चारकर्मीहरूलाई सतर्क रहन आग्रह गरेको छ। समितिका संयोजक नवराज सुवेदीले बुधबार जारी गरेको अपिलमा तीनकुने घटनाको पुनरावृत्ति हुनसक्ने चेतावनी दिँदै आन्दोलनमाथि सरकारले अराजकता फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरेका छन्।

सुवेदीका अनुसार सरकारले निहत्था नागरिक र शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई दमन गर्न सक्ने संकेतहरू देखिएका छन्। अपिलमा प्रधानमन्त्री केपी शर्मा ओलीको “काठमाडौँ नियन्त्रणमा लिने” अभिव्यक्ति र सरकारी प्रवक्ताहरूको आन्दोलन प्रतिबन्ध गर्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

उनले जेठ १५ गतेको आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने प्रतिबद्धता जनाउँदै नागरिक अधिकार, प्रजातन्त्र र मानवअधिकारप्रतिको सम्मानमा संयुक्त जनआन्दोलन समिति दृढ रहेको बताएका छन्।