राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पार्टीका सांसदहरूलाई दिइँदै आएको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सेवा सरकारले हटाएको आरोप लगाएका छन्। बुधबार यसबारेमा जानकारी गराउँदै उनले आफूलाई सुरक्षा हटाइनुमा आपत्ति नभए पनि राप्रपामाथि मात्रै विभेद गरिएको भन्दै यसको विरोध गरेका हुन्।
उनले भने, “हामी जनताको प्रतिनिधि हौं, जनतामै सुरक्षित छौं। तर राप्रपाका सांसदहरूबाट मात्र पीएसओ हटाउनु पक्षपातपूर्ण र निन्दनीय हो।” शाहीका अनुसार संसदमा दलका प्रमुख सचेतक र समितिका सभापतिहरूलाई पूर्ववत् एक/एक जना सुरक्षा अधिकारी उपलब्ध गराउने व्यवस्था थियो। तर अहिले गृहमन्त्रालयको निर्देशनमा राप्रपाका सचेतक र सभापतिबाट ती सुरक्षाकर्मी फिर्ता गरिएको हो।
शाहीले यस्तो निर्णय सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। “हाम्रो हटाउने, अरूको कायम राख्ने व्यवहार सह्य हुँदैन,” उनले स्पष्ट पारे। समितिको सभापतिमा दीपक सिंह र प्रमुख सचेतकका रूपमा शाही स्वयम् रहेका छन्। यो कदम पछाडि राजावादी आन्दोलनप्रति सरकारको दृष्टिकोण पनि जोडिएको हुनसक्ने उनले संकेत गरे।