• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादी आन्दोलनका लागि २५ हजार समर्थक काठमाडौं भित्रिए, हजार स्वयंसेवकलाई तालिम

राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र घोषणाको मागसहित भोलिबाट सुरु हुने भनिएको ‘संयुक्त जनआन्दोलन’को तयारी तीव्र भइरहेको छ। राप्रपाको अगुवाइ र संयुक्त जनआन्दोलन समितिको संयोजनमा हुने आन्दोलनमा राजसंस्थाका पक्षमा रहेका सबै घटक र दलहरुको सहभागिता रहने जनाइएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, आन्दोलनका लागि हालसम्म २५ हजारभन्दा बढी समर्थक काठमाडौं उपत्यका भित्रिइसकेका छन् र भोलिसम्म यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। श्रेष्ठले आन्दोलन शान्तिपूर्ण बनाइने र मुठभेड हुन नदिन विशेष सतर्कता अपनाइएको बताएका छन्।

आन्दोलनको व्यवस्थापनका लागि १ हजार स्वयम्सेवक परिचालन गरिनेछ, जसलाई आवश्यक तालिम प्रदान गरिएको छ। आज काठमाडौंको एक बैंक्वेटमा स्वयम्सेवकलाई प्रशिक्षण दिइँदै छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, र राप्रपा नेपाल अध्यक्ष कमल थापाले प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै आन्दोलन शान्तिपूर्ण र मर्यादित हुनुपर्नेमा जोड दिएका छन्।