गृहमन्त्री लेखकको स्पष्टोक्ति : सहसचिव भट्टराईलाई मैले नियुक्त गरेको होइन

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले अख्तियार अनुसन्धानको दायरामा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्य मन्त्रालय वा विभागबाट ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटाएको कुरा सत्य नभएको स्पष्ट पारेका छन्।

सङ्घीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भट्टराई पहिले नै गृह मन्त्रालयअन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशकको रूपमा कार्यरत रहेको जानकारी दिए। उनका अनुसार भट्टराई यसअघि विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्, जसमध्ये मोरङ, महोत्तरी र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समेत हुन्।

लेखकले उल्लेख गरेअनुसार, भट्टराईलाई गोरखाको प्रजिअका रूपमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा खटाइएको थियो। २०७८ सालमा बालकृष्ण खाण गृहमन्त्री हुँदा उनलाई राष्ट्रिय परिचयपत्र विभागको प्रमुख बनाइएको थियो भने सोही वर्षको पुस १२ गते रवि लामिछाने गृहमन्त्री हुँदा मोरङको प्रजिअ भएका थिए।

त्यसपछि बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका भट्टराई २०८० साउन ३ गते पुनः गृह मन्त्रालयमा फिर्ता भएका थिए। लेखकका अनुसार, त्यसबेला पनि गृहमन्त्री रवि लामिछाने नै थिए र सोही समयमा भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइएको हो।

अन्त्यमा गृहमन्त्री लेखकले भट्टराईलाई कसुरजन्य सम्पत्ति विभागबाटै विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको जानकारी गराउँदै, उनी २०७७ सालदेखि निरन्तर गृह मन्त्रालयमा कार्यरत रहेको स्पष्ट पारे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१