काठमाडौं। आज बिहानैदेखि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राजावादी समूहहरूद्वारा आयोजना गरिएका छुट्टाछुट्टै कार्यक्रमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी बाक्लो रूपमा परिचालन गरिएको हो। यस क्षेत्रमा ड्रोनमार्फत निगरानीसमेत गरिने बताइएको छ।
एमालेले सात दशक लामो संघर्षबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई विशेष उत्सवको रूपमा मनाउने तयारी गरेको छ। पार्टीले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दैछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मौलिक वेशभूषा र सांस्कृतिक झाँकीसहित कार्यकर्ताहरू र्यालीमा सहभागी हुनेछन्।
त्यसैगरी, राजावादी पक्षले पनि आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको छ। नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले रत्नपार्क क्षेत्रमै प्रदर्शन गर्ने बताएको छ। उनीहरूको मागमा राजसंस्थाको पुनर्स्थापना, हिन्दु राष्ट्र घोषणा र संघीयता खारेजजस्ता विषय समावेश छन्। आन्दोलनलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाल लगायत विभिन्न दल तथा समूहले समर्थन जनाएका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबै पक्षलाई समय व्यवस्थापन गर्न आग्रह गरेको छ। एमालेलाई बिहान १०:३० बजेदेखि दिउँसो २:१५ बजेसम्म कार्यक्रम सम्पन्न गर्न भनिएको छ भने त्यसपछि राजावादी समूहलाई शान्तिवाटिकामा प्रदर्शन गर्न समय दिइने जानकारी गराइएको छ।
