अब काठमाडौँ देखी हेटौंडा जाँदा सरर पोडवे चढ्न पाइने भएको छ ।
सरकारले काठमाडौं-हेटौंडा रोपवेको सट्टा नयाँ र अत्याधुनिक प्रविधिमा आधारित ‘पोडवे’ निर्माण गर्ने सम्भावनाको खोजी गर्ने भएको छ। बिहीबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन्।
उनले बजेट भाषणका क्रममा भने, “बन्द अवस्थामा रहेको काठमाडौं-हेटौंडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट छुट्याएको छु।”
‘पर्सनल र्यापिड ट्रान्जिट’ (PRT) प्रणालीमा आधारित पोडवे प्रविधि नेपालमा नयाँ हो, जसले चाँडो, सुरक्षित र वातावरणमैत्री यातायात सुविधा प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ। राजधानी र हेटौंडाबीचको लामो दूरीलाई छोट्याउने र पहाडी भूगोलमा प्रभावकारी रूपमा यातायात विकास गर्ने उद्देश्यले सरकारले यो कदम चालेको हो। यो परियोजनाले भविष्यमा नेपालको यातायात प्रणालीमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।