काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको बैठकमा गृहमन्त्री रमेश लेखक संलग्न भनिएको भिजिट भिसा प्रकरणबारे छलफल भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकमा गृहमन्त्रीको सम्भावित राजीनामाबारे नेताहरूबीच ब्रिफिङ गरिएको हो । एक पदाधिकारीका अनुसार गृहमन्त्री लेखक राजीनामा दिन तयार भइसकेका छन्, तर प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको बालुवाटार बैठकले त्यसमा रोक लगाएको दाबी बैठकमा गरिएको थियो ।
बैठकले निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्रीको राजीनामा आवश्यक रहेको निष्कर्ष निकाल्दै संसद अवरुद्ध नै राख्ने निर्णय गरेको छ । साथै, जेठ १९ गते संसदीय दलको बैठक बोलाई थप रणनीति तय गरिने जनाइएको छ ।
यसबीच, प्रतिनिधिसभाको अर्को बैठक जेठ २० गतेका लागि निर्धारण गरिएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री ओलीसँग गृहमन्त्रीको भूमिकाबारे जवाफ माग्ने तयारीसमेत गरेका छन् । यस प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै आएको छ ।