खाद्य संकटदेखि राजनीतिक संकटसम्म: जापानमा चामल अभावको असर

जापानमा हाल चामलको आपूर्ति संकट चुलिँदै गएको छ। देशको मुख्य खाद्यान्न चामलको मूल्य अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर भएको जापान टाइम्सले जनाएको छ। सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिलमा चामलको मूल्य ९८.४ प्रतिशतले वृद्धि भएको छ।

यो मूल्यवृद्धिका कारण जनजीवन प्रभावित बनेको छ र प्रधानमन्त्री शिगेरु इशिबा नेतृत्वको सरकारप्रति जनसमर्थन घट्दो क्रममा छ। सरकारको प्रयासमा आपतकालीन भण्डारण चामल प्रयोग गरिए पनि त्यसले पनि मूल्य घटाउन भने सकिरहेको छैन।

अहिले जापानको लोकप्रिय कोशिहिकारी ब्रान्डको ५ केजी चामलको मूल्य ५,००० येन (झन्डै ३५ अमेरिकी डलर) पुगेको छ भने अन्य चामलको मूल्य औसतमा ४,२०० येन रहेको छ (झन्डै २९ अमेरिकी डलर)।

प्रधानमन्त्री इशिबाले संसदमा चामल संकटबारे जवाफ दिँदै आपूर्ति अवस्थाको समीक्षा गरिने बताएका छन्।

अर्थशास्त्री टिम हार्कर्टका अनुसार मूल्यवृद्धिका पछाडि थुप्रै कारण छन् — भूकम्पको हल्लाले थोकमा किनमेल गरिनु, रुस-युक्रेन युद्धले गहुँको अभाव हुनु र पर्यटनमा वृद्धि भएका कारण चामलको माग उच्च भएको हो।साथै सन् २०२३ को असामान्य गर्मीका कारण चामल उत्पादन घटेका कारणले पनि आपूर्ति प्रभावित भएको बुझिएको छ ।

परिणामस्वरूप रेस्टुरेन्टहरू र उपभोक्ताहरूले जापानी चामलको सट्टा सस्तो आयातित चामल प्रयोग गर्न थालेका छन्।

यदि यो संकट समाधान नभए आगामी चुनावमा प्रधानमन्त्री इशिबाको अल्पमत सरकार संकटमा पर्न सक्ने खतरा रहेको छ ।

मूल्यवृद्धिले जनजीवन कष्टकर

टोकियोमा उपभोक्ता मूल्यहरू दुई वर्षयताकै उच्च बिन्दुमा पुगेका छन्। मे महिनामा ताजा खाद्यबाहेकको मूल्य सूचकांक ३.६ प्रतिशतले बढेको छ, जुन अप्रिलको तुलनामा उच्च हो। खाद्य वस्तुहरूमा मात्र ६.९ प्रतिशत वृद्धि भएको छ भने चामलको मूल्य वृद्धि लगभग ९३.७ प्रतिशतमा स्थिर रहेको छ।

जापानमा चामल अत्यन्तै लोकप्रिय खाद्यान्न हो — दैनिक भोजनदेखि मदिरा र धार्मिक कार्यसम्म यसको प्रयोग हुन्छ। चामलप्रति यस्तो गहिरो निर्भरता हुँदा आपूर्ति असन्तुलनले देशको राजनीति समेत प्रभावित गर्न थालेको हो।

जापान सरकारले १९९५ मा चामल भण्डारण प्रणाली बनाएको थियो, जुन २०११ को सूनामी र अन्य आपत्कालीन अवस्थामा प्रयोग गरिएको थियो।

राजनीतिमा असर

चामल संकटको असर राजनीतिमा पनि देखिन थालेको छ। पछिल्लो सर्वेक्षण अनुसार प्रधानमन्त्री इशिबाको सरकारप्रति जनसमर्थन २७.४ प्रतिशतमा झरेको छ। कृषिमन्त्री ताकु एतोले ‘मलाई चामल किन्नु परेको छैन’ भन्ने अभिव्यक्तिपछि उनको चर्को आलोचना भयो जसका कारण ताकु एतोले राजीनामा दिनु परेको छ।

नयाँ कृषिमन्त्री शिन्जिरो कोइजुमीले चामलको मूल्य ५ केजीको झोला ३,००० येनमा झार्ने लक्ष्य लिएको बताएका छन्।

जापानमा दशकौंयता देखिएको न्यून मुद्रास्फीतिको प्रवृत्ति सन् २०२२ यता बदलिएको छ। कोभिड महामारी, युक्रेन युद्ध, र कामदारको कमीले समस्या बढिरहेको छ। यदि मूल्य वृद्धि नियन्त्रण गर्न सरकार असफल भयो भने जनआक्रोश चर्किन सक्ने र सरकारको भविष्य अन्योलमा पर्न सक्ने खतरा बढ्दै गएको देखिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१