“समुदायका लागि चिकित्सक संस्था” को शुभारम्भ, निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्ने लक्ष्य

काठमाडौँ,  चावहिलस्थित गौरीघाट–७ मा आज एक विशेष समारोहबीच नयाँ स्वास्थ्य संस्था “समुदायका लागि चिकित्सक संस्था” को औपचारिक सुरुवात गरिएको छ। समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले स्थापित यस संस्थाले गैरनाफामूलक स्वास्थ्य सेवा, स्वास्थ्य सचेतना, र निःशुल्क तथा सुलभ उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

समारोहमा प्रमुख अतिथिका रूपमा वडा प्रतिनिधि कल्पना सुनदस उपस्थित थिइन् । साथै, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष  राजकुमार खड्की, फिल्म मेकर तथा मिडिया कर्मी अमिर के.सी. लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाको नाम “समुदायका लागि चिकित्सक संस्था”, लोगो, पदाधिकारीहरूको विवरण, र ठेगाना सार्वजनिक गरिएको थियो। संस्थाको कार्यालय गौरीघाट–७, चावहिल, काठमाडौँमा रहने छ भने सम्पर्कका लागि ईमेल ठेगाना doctorforcommunity@gmail.com तोकिएको छ। यसै अवसरमा संस्थाका उद्देश्यहरू र भावी योजनाहरूबारे विस्तृत जानकारी पनि गराइएको थियो।

कार्यक्रममा बोल्दै वक्ताहरूले नवस्थापित संस्थाले समुदायमा सकारात्मक प्रभाव पार्ने कुरामा विश्वास व्यक्त गरे। उनीहरूले स्वास्थ्य क्षेत्रमा यस्ता सामुदायिक पहलकदमीहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिएका थिए।
संस्थाका पदाधिकारीहरूले आगामी दिनहरूमा समुदायसँग निकट सहकार्य गर्दै आफ्ना सेवाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “समाज, माया, र मानव सेवा” को मूलमन्त्रलाई आत्मसात् गर्दै स्थापित यो संस्था “स्वस्थ समुदाय, समृद्ध समाज” निर्माणको दिशामा समर्पित रहने विश्वास लिइएको छ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१